भदौ १७, काठमाडौँ । नेपालमा आज थप १ हजार सय १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए ।
मन्त्रालयका अनुसार ८०० पुरुष र ३२० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो भने काठमाडौं उपत्यकामा आज मात्र थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् ।
यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ । त्यस्तै, सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् । यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा रहेको सरकारको तथ्याङ्कले देखाएको छ ।