भदौ १७, काठमाडौं, । वीर अस्पतालको ओपीडी सेवा २ दिनको लागि बन्द भएको छ । अस्पातलका चिकित्सक सहित ७१ जनामा कोरोना भाइरसको संक्रमण भएकोले बुधबार र बिहीबार २ दिन ओपीडी सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले बताए । डा. सेञ्चुरीले १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जना कर्मचारीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो जस मध्ये केही होम आइसोलेसनमा, केही होटल आइसोलेसनमा रहेका छन् भने केही कर्मचारीहरु क्वारेन्टिनमा रहेका छन् ।
डा. सेञ्चुरीका अनुसार सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको हो । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।