मकवानपुर, २० चैत/ चौथो बागमती गोल्डकप प्रतियोगिताको फाइनलमा अफ्रिकन रुट एसोसिएसन क्यामरुन प्रवेश गरेको छ ! मकवानपुरको बागमतीमा गाउँपालिकामा संचालित चौथो बागमती गोल्डकपको शुक्रबार भएको सेमिफाइनल खेलमा जावलाखेल युथ क्लव ललितपुरलाई ट्राईबेकरमा पराजित गर्दै अफ्रिकन रुट एसोसिएसन क्यामरुन फाइनलमा प्रवेश गरेको हो ।
बागमती गाउँपालिका वडा नम्वर-८ स्थित जनता माविको खेलमैदान भएको पहिलो सेमिफाइनलको खेलमा अफ्रिकन रुट एसोसिएसन क्यामरुनले जावलाखेल युथ क्लब ललितपुरलाई ट्राईबेकरमा ५-३ को अन्तरले पछि पार्दै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयसम्म गोल रहित बराबरी खेलेपछि खेलको छिनोफानो ट्राई बेकरबाट गरिएको थियो । ट्राईबेकर सुटआउटमा जावलाखेलका विशाल तामाङ्गले प्रहार गरेको बल क्यामरुनका गोल रक्षक गस्यीभियोले नियन्त्रणमा लिएका थिए ।
चौथो बागमती गोल्डकपको उपाधीका लागि अफ्रिकन रुट एसोसिएसन क्यामरुनले बागमती यूथ क्लव सर्लाही र थ्रीस्टार क्लव ललितपुरको विजेतासँग २३ गते प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगतको २१ गते शनिबारको खेल बागमती यूथ क्लव सर्लाही र थ्रीस्टार क्लव ललितपुर बीच हुने आयोजकले जनाएको छ।mli