काठमाडौंँ,फागुन २९ /सोमबार त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत पपुवा न्युगिनी पीएनजीविरुद्ध नेपाल ९ विकेटले जित निकालेको छ । नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले अमेरिकालाई सन् २०२० मा ८ विकेटले हराएको थियो। त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।
नेपालका लागि विश्वकप छनोटमा पुग्न पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्नुपर्ने अवस्थामा थियो। जसमा नेपालले ११ मध्ये १० खेलमा जित हात पारिसकेको छ। पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए ।
१० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपालले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । पराजित पीएनजीले ३५ खेलबाट ११ अंक जोडेको छ । अब बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ।