काठमाडौं,२७ मंसिर / सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् ।
सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन।
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको बैंकले जनाएको छ।
सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरू यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने सिभिल बैकका चिफ विजिनेस भोला बहादुर विष्टले बताए।
हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरि करिब रू। ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्स्टेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।