मकवानपुर, २६ भदौ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले आदिवासी, जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक समूदायको हितका लागि तीनै तहका सरकारले विशेष योजना ल्याई कार्यान्वयनको चरणमा लैजानुपर्ने बताएका छन् । किंरात देवास राई उत्थान समाज नेपालको पाँचौँ राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै संविधानले समावेशीता, समानता एवम् मौलिक अधिकारलाई सुनिश्चित गरेको भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समेत बताए ।
हेटौंडामा आयोजित कार्यक्रममा राज्यमन्त्री प्रजाले यथास्थितिबादीहरुको भेदभावपूर्ण व्यवहारका कारण आज पनि समानताको उद्देश्य पूर्ण रुपमा पुरा नभएको बताए ।
विभिन्न जातजातिको लागि भाषा, भेषभूसा, कला तथा संस्कृति ठूलो सम्पती भएको उल्लेख गर्दैै उनले त्यसको संरक्षण र संस्थागत गर्न प्रदेश सरकारले भाषा आयोग गठन गरिसकेको बताउँदै उनले भाषा तथा लिपीको विकास गरिने समेत बताए ।
त्यस्तै राई समुदायको छाता संगठन किंरात राई ९यायोखा० को केन्द्रीय महासचिव जनक राईले नेपाल कला, भाषा, संस्कृतिको सवालमा विश्वमा नै अब्बल रहेको र यहाँको संस्कार उत्कृष्ट भएको बताए । अनेकतामा एकता भनेझैं नेपालमा धेरै जातजाति, भाषाभाषि, वर्ण, लिङ्ग र सम्प्रदायका मानिसहरु बसोबास गर्दै आएको भएपनि उनीहरुबीच आपसी सद्भाव एवम् भाइचाराको सम्बन्ध रहेको उनले बताए ।
समाजका केन्द्रीय अध्यक्ष आस्मान राईको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका महासचिव प्रेम राई र जिल्ला शाखा अध्यक्ष बद्रिबहादुर राईले समुदायको हितका लागि समुदायस्तर र राज्यपक्षबाट पहल आवश्यक रहेको बताए ।
अधिवेशनको पहिलो दिन शनिवार झाँकीसहितको राई समुदायको पहिचान झल्कने नाचगान प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहपूर्व झाँकीसहितको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । आज हुने बन्द सत्रबाट समाजको नयाँ कार्यसमिति चयन हुने समेत जनाइएको छ ।