कैलाली, ८ साउन/ कैलालीको पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका-२ मोतीपुरमा सडक छेउमा रोकिएको बा२१च २९०३ नम्बरको जीपसँग क१प१५९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चालक जुम्लाको तातोपानी गाउँपालिका-१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सख्त घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।