बारा, २७ फागुन / बारा जिल्लाको निजगढमा हुन लागेको प्रि होली कन्सर्टमा गायक प्रमोद खरेल तथा गायिका रचना रिमाल आउने भएका छन् । होली पर्वको अवसर पारेर युथ अफ निजगढले शनिबार २८ गते आयोजना गर्न लागेको प्रि–होली कन्सर्टमा गायक खरेल र गायिका रिमाल लगाएत स्थानिय कलाकारहरुको विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।
विगत ७ वर्ष देखि कन्सर्ट गर्दै आएको युथ अफ निजगढले यसपाली पनि प्रि होली कन्सर्टको ८ औ संस्करण शनिबार निजगढ स्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा गर्न लागेको क्लबका अध्यक्ष प्रकाश काफ्ले जानकारी दिएका छन् ।
हरेक वर्ष जस्तै यस वर्ष पनि प्रि होली कन्सर्टसँगै रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिन लागेको क्लवका सचिव कमल पराजुलीले जानकारी दिएका छन् । पराजुलीका अनुसार कन्सर्ट बेलुकीको समयमा भए पनि रक्तदान कार्यक्रम चै बिहान ७ बजे देखि शुरु हुने जनाएको छ ।
यस वर्ष पनि राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुति दिने भएकोले कार्यक्रम सफल हुनेमा आफूहरु विश्वस्त रहेको क्लवका सदस्य एवम कार्यक्रमका प्रेस संयोजक प्रलाद तिमल्सिनाले बताए ।