रौतहट, २७ माघ / रौतहट जिल्लाको चन्द्रपुर स्थित सहिद स्मृती पार्कमा होलीको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रौतहटको संयोजन तथा चन्द्रपुर समन्वय परिषदको आयोजनामा बिहीबार होलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि तथा मधेस प्रदेश सभा सदस्य धनलाल ठोक्करले आफ्नो अधिकार, पहिचान र अस्तित्व रक्षाका लागि सम्पूर्ण आदिवासी जनजातीहरु एक भएर लाग्नु पर्ने बताएका थिए । त्यसैगरी विशिष्ट अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले होलीको शुभकामना दिदैं ६९ प्रतिशत आदिवासी जनजातिको बसोबास रहेकोमा नेपालमा अरुकै अधिनमा बस्न बाध्य हामी सम्पूर्ण आदिवासी जनजातीहरु फुटेर भन्दा जुटेर अगाडी बढे पक्कै सत्ता संचालनमा हाम्रो भूमिका प्रमुख हुने कुरा बताएका थिए । कार्यक्रमका अर्का विशिष्ट अतिथी नेपाल तामांग घेदुङ्ग संघका केन्द्रिय सदस्य खड्क बहादुर बम्जनले हामी आदिवासी जनजातीहरु कला, संस्कृतिमा धनी छौ हाम्रो आफ्नो कला, संस्कृतीलाई संरक्षण गर्दै विश्व सामु चिनाउनु पर्ने कुरामा जोड दिनु पर्ने बताएका थिए।
रौतहट जिल्ला भरिकै आदिवासी जनजाती अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा होलीको शुभकामना आदान प्रदान गर्नुको साथै आदिवासी कलाकारहरुले आ-आफ्नो कला संस्कृती झल्किने विभिन्न प्रस्तुति समेत दिएका थिए ।