रौतहट ,१५ माघ / प्रेस सेन्टर नेपाल रौतहट शाखाले आफनो १८ औं स्थापना दिवसको अवसरमा शनिवार चन्द्रपुरमा मास्क वितरण गरेको छ । प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्कीको नेतृत्वमा चन्द्रनिगाहपुर चौकमा करीव ३ हजार भन्दा बढी मास्क वितरण गरिएको हो । विश्वमा महामारीकै रुपमा फैलिएको कोभिडको पछिल्लो स्वरुप ओमिक्रोनबाट बच्नका लागि मास्कको प्रयोग आवश्यक रहेकोले सेन्टरले स्थापना दिवसको अवसर पारेर मास्क वितरण गरेको अध्यक्ष कार्कीले बताएका छन । उनका अनुसार रौतहटमा पनि कोभिडका विरामी बढ्न थालेको र यसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्दै मास्क प्रयोग गर्ने, भ्याक्सिन लगाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेकोले आफुहरुले पनि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले सर्वसाधारणमा मास्कको प्रयोगका बारेमा चेतना अझै आइनसकेकोले यस किसिमको कार्यले थोरै मात्रामा भएपनि मास्कको प्रयोगका बारेमा बुझाउने कार्य भएको बताएका छन । हरेक नागरिकले स्वास्थ्य मापदण्ड अपनाउने हो भने कोभिड समाजमा फैलन नसक्ने भएकोले पनि सवै नागरिकले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने लामिछानेले बताए ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमल्सिनाले प्रेस सेन्टर नेपालले कोभिडको महामारीको समयमा यसरी जनचेतनामूलक रुपमा मास्क वितरण गरेर समाजलाई जागरुक बनाएको बताए । समाज जवसम्म जागरुक हुदैन तवसम्म कुनैपनि काम प्रभावकारी नहुने भएकोले यसरी जनतालाई मास्कको महत्व बुझाउन प्रेस सेन्टर नेपाल रौतहट शाखा सफल भएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनोज कुमार शाह, माओवादी केन्द्रका युवा नेता सरोज बछार, विद्यार्थी, युवा, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायतबाट खटिएका सुरक्षाकर्मीहरुले सडकमा मास्क नलगाई हिड्ने पैदल यात्रु, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै यसको महत्वका बारेमा समेत प्रकाश पारेको प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सचिव ओम किशोर चौधरीले जानकारी दिएका छन । कार्यक्रमका लागि सरोज सर्जिकल चन्द्रनिगाहपुरले २ हजार थान मास्क, सेनिटाइजर उपलब्ध गराएको थियो भने सिभिल अस्पतालले १ हजार मास्क सहयोग गरेको थियो ।