रौतहट,७ माघ । नेकपा एमाले रौतहटको नवौ जिल्ला अधिवेसनमा अध्यक्ष मण्डलले एकलौटी गरेको भन्दै एमाले प्रदेश कमिटी सदस्य इद्रिस सिद्धिकीले आपत्ती जनाएका छन ।
शुक्रबार बसेको एमाले गुजरा नगर कमिटीका पदाधिकारीहरु सहितको बैठकले नयाँ जिल्ला कमिटीलाई नमान्ने जनाएको छ । जिल्लाको कठहरियामा भएको एकताको नवौं अधिवेशनको गत आईतबार साँझ भएको बन्द शत्रमा लोकतान्त्रिक पद्धती र प्रक्रियालाई लत्याउदै अध्यक्ष मण्डलले मनोमानी तरिकाले गठन गरेको जिल्ला कमिटीलाई आफूहरुले नमान्ने सिद्धिकी लगायत नव निर्वाचित जिल्ला कमिटी सदस्यहरुले बताएका छन । सिद्धिकीका अनुसार एकताको अधिवेशन भन्ने तर कुनै छलफल नै नगरी र हलबाट कुनै प्रतिकृया नै नलिई एकलौटी तरिकाले पदाधिकारी चयन गर्नु कस्तो एकता अधिवेशन हो ? यसलाई हामीले स्विकार्न सक्दैनौ यसको घोर भत्र्सना गर्दछौ ।
गुजरा नगरपालिका-३ बलुवा टोलमा बसेको बैठक पछि प्रतिक्रिया दिदैं प्रदेश कमिटी सदस्य सिद्धिकीले अध्यक्ष मण्डलका उपेन्द्र साहले अरु कसैको ईशारामा लोकतान्त्रिक पद्धतीको धज्जी उडाउदै जिल्ला कमिटी गठन गरेको आरोप समेत लगाएका छन । त्यस्तै नव निर्वाचित जिल्ला सदस्य हरि नारायण बन्ठा लगायतका जिल्ला सदस्यहरु रामफुल चौधरी, राम आशिष साह, भोला पासवान, गौरी न्यौपाने लगायतले पाटीको प्रक्रिया, नीति तथा विधान बिपरित पदाधिकारी चयन गर्नु गलत भएको भन्दै आफूहरु आजैबाट जिल्ला सदस्य पद परित्याग गरेको र नव गठित जिल्ला कमिटीलाई स्वीकार गर्न नसक्ने जनाएका छन ।
बहुदलिय जनवादलाई स्विकार्दै आएको र हाम्रो पाटी नेकपा एमालेको मार्गदर्शन पनि बहुदलिय जनवाद भएकोले त्यो अन्तर्गत जनताबाट चुनिनु पर्ने ठाउँमा नेताहरुले मनोनित तरिकाले पदाधिकारीहरु चयनको विरोधका वाबजुद पनि निर्वाचन प्रक्रियामा नगएर नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु खेदजनक भएको एमाले गुजरा नगरपालिका नगरकमिटी अध्यक्ष पदम कुमार श्रेष्ठले जनाएका छन । त्यस्तै बैठकमा सहभागी युवा संघका केन्द्रिय सदस्य ईश्वर प्रधान, नगर कमिटी उपाध्यक्ष रामजित चौधरी, सचिव शेख जमालुदिन, सदस्यहरु गणेशी गिरी, केशर बहादुर स्माली मगर, वडा अध्यक्षहरु निरन्जन पुरी, बिक्रम मगर लगाएतकाले नवौं जिल्ला अधिवेशनमा एकलौटी तरिकाले गरेको निर्णय तथा पदाधिकारी मनोनयनको पक्रियालाई गलत भन्दै विरोध गरेका छन ।