रौतहट, २२ पुष / गुजरा नगरपालिकाले यतिसम्म लापरवाही गरेको छ कि सर्टलिस्ट (छोटो सूची) मा नपरेको व्यक्तिलाई समेत सहजकर्ता तथा स्वयम सेवक पदमा उतीर्ण गराएको छ । करार सेवामा सहजकर्ता तथा स्वयम सेवक पदको शर्टलिस्टमा नपरेका सागिर मन्सुरीलाई नगरपालिकाले निकालेको अन्तिम नतिजामा सफल गराएको हो । नगरपालिकाले गत मङ्सिर ५ गते कृषि तथा पशु शाखाका लागि आव्हान गरेको करार सेवामा सहजकर्ता तथा स्वयम सेवक पदको लागि पुष १६ गते निकालिएको छोटो लिस्टमा नपरेका मन्सुरीलाई पुष २० मा निकालिएको अन्तिम नतिजामा उतीर्ण गराएको नगरपालिकाको आधिकारिक फेसबुकबाट सार्वजनिक गरिएको अन्तिम नतिजाको सूचनामा देख्न सकिन्छ ।
सर्टलिस्टमा नाम नै नभएको मन्सुरीलाई अन्तिम नतिजामा सफल भएको देख्दा आफू चकित परेको एक प्रतिष्पर्धीले मेरो हुलाकी डटकमलाई जानकारी गराएका छन् । उनका अनुसार नगरपालिकाले आफ्नो खल्तीको मान्छेलाई विभिन्न पदमा नियुक्त गर्ने कुरा सुनेको मात्रै थिए तर यहाँबाट प्रष्ट भएको छ । यहाँ राम्रोलाई भन्दा हाम्रोलाई बढी प्रसय दिने गरेको पाइयो बरु आन्तरिक रुपमा नै आ-आफ़्नो मान्छेलाई नियुक्ती गरे हुने नि यो विज्ञापनको नाटक किन गर्नु पर्यो भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।