रौतहट, २२ पुष / थारु समुदायको महान पर्व माघीको अवसरमा यस वर्ष पनि रौतहटमा माघी महोत्वस हुने भएको छ । थारुहरुको अस्तित्व, भेषभूषा, भाषा, कला संस्कृति र पहिचानलाई संरक्षण तथा सम्वर्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष मनाउदै आएको माघी महोत्वस यस वर्ष पनि मनाउने भएको हो । थारुहरुको नयाँ वर्ष २६४६ लाई भव्य बनाउने उद्देश्यले थारु कल्याणकारिणी सभा रौतहटको आयोजना तथा गुजरा नगरपालिकाको प्रयोजनमा गुजरा नगरपालिका-२ स्थित चोचा फनपार्कमा महोत्सवको आयोजना गर्न लागेको सभाका सह-सचिव रामबाबु चौधरीले जानकारी दिएका छन् ।
माघ १ र २ गते गरी २ दिनसम्म हुने उक्त महोत्सवको पहिलो दिन थारुहरुको संस्कृति, भेषभूषा, कला झल्किने झाकी, समाचाकेवा, विभिन्न किसिमका कला प्रदर्शनी तथा दोश्रो दिन नेपाली सांगीतिक क्षेत्रका वरिष्ट संगीतकार विकास चौधरी, चर्चित गायिका अनु चौधरी र गायक तथा संगीतकार सूर्य राई दनुवार लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।