काठमाडौं २० असोज / सागर ढकाल र साहब आलमको चार विकेटप्रेरित चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को क्वालिफायरमा पोखरा राइनोजलाई ६६ रनमा सीमित गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य बनायो ।
पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रनको योगदान गरे । सुनील धमलाले १८ रन बनाउँदा सुशन भारीले १२ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ चितवनका लागि सागर ढकाल र साहव आलमले समान चार–चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले १४ रन खर्चिए ।
चितवनका लागि कप्तान सोमपाल कामी र करिम जन्नतले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले प्लेअफमा जित निकाल्ने टोलीसँग खेल्नेछ ।