दोलखा, १९ असोज / दोलखामा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित मासु पसलहरुमा सडेको मासु बिक्री गरिएको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखा, भीमेश्वर नगरपालिकाकाबाट मंगलबार खटिएको बजार अनुगमन टोलीले चरिकोटमा सञ्चालित मासु पसलको अनुगमन गर्ने क्रममा ३० केजी खान अयोग्य मासु भेटेपछि यो रहस्य खुलेको हो । अनुगमन टोलीले चरिकोटमा रहेको श्रेष्ठ दाजु भाई मासु पसलबाट २० केजी सडेको कुखुराको मासु बरामत गरेको भीमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत माधवप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार चरिकोटमा नै सञ्चालनमा रहेको रमेश कोल्ड स्टोरबाट राँगाको सडेको मासु र किस्मत मासु पसलबाट खसीको सडेका मासु समेत गरेर ३० केजी बरामत गरेको बताए । अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको र नियम विपरित काम गर्ने व्यवसायीहरुलाई १ हजारका रुपैयाँका दरले जरिवाना तिराएको छ ।