दोलखा, १५ असोज / अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोलखामा ४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । दिवसको अवसरमा जिल्ला जेष्ठ नागरिक संघ दोलखाले ४ जना जेष्ठ नागरिकलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । संघले भीमेश्वर नगरपालिका वडा नम्वर २ की काली कमिनी, भीमेश्वर वडा नम्वर ४ का गणेश बहादुर केसी, भीमेश्वर ३ का मानकुमारी राउत र भीमेश्वर नगरपालिका ७ का बम बहादुर थापालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि गएको डेढ दशक देखि यो दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ । यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ । यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्ने र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधी उपचारमा सहुलियत दिने व्यवस्था गरिएपनि आफुहरुले कतिपय सेवा सुविधा नपाएको जेष्ठ नागरिक प्रेम बहादुर कार्कीले गुनासो गरेका थिए ।