रुकुम (पूर्व), १३ असोज / नेपालको कान्छो जिल्ला एवम लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बुधबार सिस्ने गाउँपालिकाको प्राङगनमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई पूर्ण खोप जिल्ला घोषणा गरेका छन् । सभामुख घर्तीले प्रतिबद्धता पत्र वाचन तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।
जन्मेदेखि १५ महिनासम्मका एक हजार ३ सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९ सय ३४ जना बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताइएको छ । यस अघि जिल्लाका ३ वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तीन वटै पालिका पछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिएका छन् ।
रुकुम पूर्व जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप शुनिश्चित भएका छन् । यसअघी ११ वटै जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । अव नेपालका ६२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएका छन् । नेपाललाई पूर्ण खोप शुनिश्चित देश घोेषणा गर्ने प्रतिबद्धता अनुसार आजसम्ममा ६२ जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका बसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार देशका झन्डै ९० प्रतिशत पालिका पूर्ण खोप शुनिश्चित पालिका भएका छन् । बाल मृत्युदर कम गर्नका लागि जन्मदेखी २३ महिना सम्मका बालबालिकालाई नियमति खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन थालेदेखि नेपालमा बाल मृत्यु दरमा पनि निकै कमी आएको श्रेष्ठको भनाई छ ।