रुकुम पूर्व, ३० भदौ / रुकुम पूर्वको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको कमलदहमा अहिले अन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । सिस्ने गाउँपालिका वडा नम्वर ५ स्थित रुकुमकोट बाहुन ठानामा अवस्थित नेपालको नक्सा आकारको कमलदहमा अहिले कमलको फूल फूलेर झन सौन्दर्यता बढाएको छ । दहमा हाँस ताल्चरी, माल्चरी पौडी खेलिरहेको कारण झनै सौन्दर्य बढाएको छ । दहको मनमोहक तथा रमणीय दृश्य हेर्न कै लागि दैनिक सयौंको संख्यामा अन्तरिक पर्यटकहरु आउने गरेका छन ।
कमल दहको मध्य पहाडी भागमा शिवको मन्दिर, सल्लाबारीसँगै राधा कृष्णको मन्दिर छ भने अर्को भागमा बराह मन्दिर अवस्थित रहेको छ । पछिलो समय दहलाई थप व्यवस्थित बनाउनको लागि वामदेव गौतमको अध्यक्षतामा कमल दह व्यवस्थापन समिति समेत गठन गरिएको छ । उक्त ब्यवस्थापन समितिले स्थानिय तहसँग समन्व्य गरेर दहको ब्यवस्थापन तथा त्यहाँ कार्यरत कर्मचारीहरुको पारिश्रमिकका लागि त्यहाँ घुम्न आउने पर्यटकहरुसँग प्रवेश शुल्क वापत २० रुपैया लिने गरेको समितिका अध्यक्ष गौतमले बताएका छन । दह हेर्नकै लागि छिमेकी जिल्लाहरु रुकुम पश्चिम, सल्यान, रोल्पा, बागलुङ, दाङ लगाएतका स्थानबाट सयौंको आन्तरिक पर्यटकहरु आउने गरेको व्यवस्थापन समिति अध्यक्ष गौतमले जनाएका छन् । पाहुना घर तथा शौचालयको राम्रो ब्यवस्था भएपनि पूर्ण रुपमा ब्यवस्थित हुन नसकेको दह वरिपरी निर्माण केही लोभ लाग्दो संरचनाले पर्यटकहरुलाई झनै आकर्षित तथा मोहित गर्ने गरेका छन ।