सिन्धुपाल्चोक, २५ भदौ / पछिल्लो समय सिन्धुपाल्चोकका किसानहरुले विभिन्न प्रजातिका च्याउ खेती गरेर आफ्नो जिवनस्तर सुधार गरिरहेका छन् । त्रिपुरा सुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गाा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
वार्षिक एक लाख भाडामा जग्गा लिएर च्याउ खेती सुरु गरेका राउतले स्थानिय ७ जनालाई रोजगारी समेत दिएका छन् । उत्पादनका हिसाबले जिल्लाकै सबैभन्दा ठूलो च्याउ फर्म भएकोले हेर्न आउने पाहुनालाई बलरामले फार्ममै च्याउको रोष्ट बनाएर चखाउने गरेको बताउँछन् । झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर खुद नाफा वार्षिक ७ लाख हुने गरेको राउतले बताएका छन् । च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुने गरेको र ६० प्रतिशत काठमाडौंमा लैजाने गरेको राउतले जनाएका छन् । सरदर दैनिक १ सय किलोग्राम सम्म उत्पादन हुने च्याउको स्थानीय मूल्य १ सय ५० देखी २ सय सम्म रहेको छ । बाह्रबिसे, खाडीचौर लगाएत स्थानीय बजारका ब्यापारीहरु च्याउ लिन फार्ममै आउने गरेका छन् ।
त्यस्तै ३ वर्ष पहिलेदेखि च्याउ खेती सुरु गरेकी चौतारा साँगाचोक नगरपालिका–१० जल्केनीकी सीता थापाको आफ्नै घर नजिकै प्लाष्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रंगको सिताके च्याउ टनक्कै फलेका छन् । लगभग ७ लाख लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेकी उनको अहिले १५ सय मुढा पुगेको छ । तर मुढामा बिउ राखेको ९ महिना पछि मात्रै उत्पादन हुने गरेकोले ३ सय मुढाबाट मात्रै उन्त्पादन भएको उनी बताएकी छन् । अहिले थापाको एक महिनामा एकसय केजी सम्म च्याउ उत्पादन हुने गर्दछ । बिउ राखेको ६ महिना सम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुने उनको कथन छ, तर ठूलो खालको सिताके च्याउको लागि भने उत्पादन हुन ९ महिनासम्म लाग्ने थापाले बताईन् । प्रति केजी ५ सय देखि ८ सय सम्म बिक्री हुने गरेको उक्त च्याउबाट पोहोर साल मात्र साँढे दुई लाख आम्दानी भएको उनले सुनाईन । यसबर्ष भने थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चारलाख सम्म आम्दानी हुने उनको ठम्याई छ । जुनसुकै रोगीकोे लागि उपयोगी हुने तथा रोगसँग लडन् सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यवर्दक सिताके च्याउ खरिदका लागि स्थानीय ब्यापारी घर सम्म आउने गरेका छन् । उनका अनुसार सिताके च्याउ विशेष गरेर उत्तिसको र कटुसको मुढामा हुनेगर्दछ । उतिस भन्दा कटुसको मुढामा फस्टाउने भएपनि मुढाको अभाव भएकोे उनले बताईन् । च्याउ उत्पादनका लागि सुरुमा आफ्नै लगानीबाट सुरु गरेकी सितालाई बागमति प्रदेश सरकारले नमुना कृषि फर्म स्थापना कार्यक्रम अन्र्तगत १५ लाख प्रदान समेत दिइएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं.–४ मा सिता श्रेष्ठले ३ वर्षदेखी गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउँछिन् । श्रेष्ठले च्याउ खेतीबाट वार्षिक २ लाख कमाउने गरेको बताईन् । चौतारा साँगाचोकगढी नगरपालिका–४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय कृषक चिन्तित बनेका छन् ।
यस्तै वि.सं.२०७५ सालमा फर्म बसन्त कृर्षि तथा पशुपालन फर्मका सञ्चालनमा ल्याएका ब्यवसायी भिमशेन खड्काका अनुसार स्थानीय स्तरमा उत्पादन गरिएको सिताके च्याउले स्थानिय हाट बजारमा राम्रो भाउ नपाएका कारण काठमाडौंको विभिन्न होटलसम्म पुर्याउनु पर्ने झन्झट व्यहोर्नु परेको बताए । उनले फर्ममा विभिन्न जातका माछा, सिताके च्याउ, भैसीपालन देखि विभिन्न किसिमका स्थानीय तरकारीहरु तथा बेर्नाहरु उत्पादन गर्दै आएका छन् । स्थायी शिक्षकको जागिर छोडेर कृषी फर्मतिर आकर्षित भएका उनका बुबा झपड बहादुर खड्का पनि जिल्लाको उत्कृष्ट कृषक हुन् । तीन जनाको एक करोडको लागतमा संचालनमा ल्याएको फर्मलाई पशुपालनको लागि प्रदेश सरकारबाट १० लाख तथा स्थानीय सरकारबाट माछा पालनको लागि ५० हजार अनुदान पाएको खडकाले बताएका छन् ।