रुकुम पूर्व, २० भदौ/ रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ छिप्रीदहमा निर्माण गरिएको सहकारी कोशेली घर सञ्चालनमा आएको छ । स्वाभिमान दलित उत्थान बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएका काशेली घरको आईतबार सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतम तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
दलितहरुका परम्परागत सीप र उत्पादनलाई बजारीकरण गरि प्रचार प्रसार गर्ने र दलितहरुका पहिचानलाई जोगाउन सीपकला संरक्षण तथा अर्गानिक उत्पादन बिक्री केन्द्रको रुपमा कोशेली घर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष हर्कविर कामीले बताएका छन् ।
उक्त कोशेली घर उद्घाटन कार्यक्रममा बोल्ने क्रममा गाउँपालिका अध्यक्ष कुमारी बरालले यस सहकारी संस्थाले अहिलेसम्म गरेका सबै कामहरु सहनिय भएको बताउदै दलितहरुले उत्पादन गरेका सामानहरु बजारीकरण गर्न गाउँपालिकाले पूर्ण रुपमा सहयोग गर्ने अश्वासन दिएका छन् । यस्तै उद्घाटनकै क्रममा प्रमुख जिल्ला अधिकारी बास्कोटाल अब राजनीति क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको खाँचो रहेकोले सुझाएका थिए । साथै बास्कोटाले कोशेली घरलाई प्रभावकारी ढंगले सञ्चालन गर्न समेत आग्रह गरेका थिए ।