रौतहट, १ जेठ/ जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको निषेधाज्ञको उलंघन गर्दै दिउँसो नै बकैया खोलाबाट तिब्र रुपमा नदीजन्य वस्तु उत्खनन् गरेर भण्डारण गर्दा समेत स्थानीय प्रहरी प्रशासन मौन रहेको छ ।
जिल्ला प्रशासन् कार्यालय रौतहटले जेठ १ गते देखि जारी गरेको निषेधाज्ञमा निर्माण सामाग्री ढुवानी राती ८ बजेदेखि विहान ७ बजेसम्म मात्र आवतजावत गर्ने र उक्त अवधि भित्र लोड अनलोड समेत गरी गन्तव्यसम्म पुगी सक्नुपर्ने उल्लेख भए पनि त्यसलाई बेवास्ता गर्दै ठेक्केदार कम्पनीले दिउँसोको समयमा नै नदीजन्य वस्तु उत्खनन गरेर भण्डारण गर्ने गरेको छ । फतुवा विजयपुर नगरपालिका अन्तरगत बकैया खोलाको ठेक्का पाएका ठेक्केदार कम्पनी ओम गौरी शंकर इन्फ्रास्ट्रकचरले गरेको निषेधाज्ञा उलंघनको बारेमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जानकारी गराउदा आफूसँग अरु पनि धेरै काम भएकोले यस विषयमा सम्बन्धित इलाका प्रहरी कार्यालयलाई जानकारी गराउन अर्हाएका थिए । त्यस लगतै इलाका प्रहरी कार्यालय फतुवा बिजयपुरका प्रमुख प्रहरी निरीक्षक बिष्णु विकलाई निषेधाज्ञको उलंघन गरेर सयौंको संख्यामा ट्रीपर चल्ने गरेको बारेमा जानकारी गराउदा आनाकानी गर्दै यस विषयमा प्रहरीलाई नभएर नगरप्रमुखलाई जानकारी गराउन भनेका थिए । एकातिर गुजरा नगरपालिका अन्तर्गत पर्ने सोही बकैया खोलाबाट नदीजन्य वस्तु उत्खनन् तथा ढुवानीमा स्थानीय प्रहरीले पूर्ण रोक लगाएको छ भने अर्कोतिर तिब्र रुपमा सयौंको संख्यामा ट्रीपर प्रयोग गरी नदीजन्य बस्तु उत्खनन् तथा भण्डारण गर्दा पनि प्रहरी प्रशासन मौन बसेका छन् ।
सर्वसाधारण जनता काम विशेषले घर बाहिर निस्किदा लट्ठीको वर्षा गराउने प्रहरी यसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञालाई ठेक्केदार कम्पनीले ठाडो उलंघन गर्दा पनि प्रहरी प्रशासन निरीह भएर बस्नुले कतै प्रहरी प्रशासनको मिलोमत्तोमा यो सबै हुने गरेको त हैन भन्ने प्रश्न चिन्ह खडा भएको छ । साथै यस विषयमा फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुखलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन ।