काठमाडौं,१० वैशाख/ गण्डकी प्रदेशले आज मुख्यमन्त्री पाउने भएको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेको निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको हो। प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।
। कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आज नयाँ सरकार गठन हुने र त्यो गठबन्धनका दलहरूबीचको सहमतिअनुसार हुने बताए।
केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सरकार गठनका लागि बहुमत छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादीका सभामुखसहित आठ र एकीकृत समाजवादीका एक सांसद छन्।
माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले गठबन्धन दलबीचको सहमति अनुसार मुख्यमन्त्री नियुक्त हुने जानकारी दिए। उनले कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति रहेको र सुरुमा मुख्यमन्त्री को हुने भन्नेबारे आइतबार नै टुंगो लाग्ने बताए।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुअघि कांग्रेस र माओवादी दुवै दलका सांसद पार्टीको केन्द्रबाट आउने निर्देशनको पखाईमा छन्।