काठमाडौं,२५ / साउन रआगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो। मंसिर ४ गते मतदान हुँदैछ। २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन्। आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरिसकेको छ।
आयोगले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स, तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरेको छ। नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ‘नामावलीमा भएको त्रुटि सच्याउने, कसैले भुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदसयको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू कार्यक्रममा समावेश गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।