रौतहट, २३ फागुन / सर्वसाधारण जनताले डाक्टरलाई भगवानको दर्जा दिने गरिन्छ, तर कतिपय यस्ता डाक्टर पनि छन जसको लापरवाहीले विरामीले ठुलै मूल्य चुकाउनु पर्ने हुन्छ । कहिलेकाही डाक्टरको लापरवाहीले ज्यानै सम्म गुमाउन पुग्छ । यस्तै घटना रौतहट जिल्लामा घटेको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका स्थित सरकारी अस्पतालका डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ ।
दुर्गा भगवती गाउँपालिका १ छतवनाका अम्बिका महतोको अप्रेशन गर्ने क्रममा डाक्टर सन्जित कुमार साह नेतृत्वका चिकित्सकहरुको टोलीले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका छन । अम्बिकालाई प्रसूति पीडा भएपछि परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेको उनलाई डाक्टर संजितकुमार साह नेतृत्वको टोली अप्रेशन गरेको श्रीमान जितेन्द्र महतोले बताए । उनका अनुसार श्रीमती अम्बिकाको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।
अप्रेशनपछि डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताएका थिए । पेट भित्रै स्टिच निडिल सुई छुटेपछि अप्रेसन गरेको केही घण्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएको र डाक्टरहरुकै आग्रहमा नै एम्बुलेन्स मगाएर अम्बिकालाई चन्द्रपुर अस्पताल प्रा.लिमा लिएर गएको महतो परिवारले मेरो हुलाकी डटकमलाई बताएका छन ।
यस्तै चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीका अनुसार सोमबार बिहान महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको छ । अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।