काठमाडौं, १० कात्तिक / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्। प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन्। माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याएका अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए ।
भारतविरुद्ध फाइनल खेल्नुअघि उनले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए । त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन अनुरोध गरेका थिए ।अल्मुताइरी भने नेपाली टिमसंग फर्किएनन् र कतार लागे । एन्फा अध्यक्ष पनि कतार पुगेर उनीसँग भेट गरे । कतार पुटबल संघसँग पनि छलफल गरेपछि उनले आफ्नै निर्णयलाई परिवर्तन गर्दै नेपाल आउने बताएका हुन् ।
तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् । अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ । तर अलमुताइरीले भने पटकपटक नेपाल छाड्ने बताएका थिए ।