काठमाडौं ५ असोज / नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्नेभएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेतृत्व चयनको कार्यविधि बनाएको हो ।
माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले राष्ट्रिय सम्मेलन अघि नै तल्ला कमिटीको नेतृत्व चयन भैसक्ने बताए । यसरी नेतृत्व चयन हुँदा २ लाख ८५ हजार जना चुनिनेछन् । निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।
अध्यक्ष प्रचण्ड र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए । सो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने जानकारी गराउँदै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका थिए।
बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका ५५ जना सहभागी थिए । बैठकमा निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले प्रशिक्षण दिएका थिए। प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए ।