संखुवासभा, २६ भदौ, संखुवासभाको मादीमा भएको हत्या काण्डका एक जना आरोपी पक्राउ परेका छन् । गत सोमबार एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो । ६ जनाको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् । उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरी श्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि आईतबार चैनपुरबाट सार्वजनिक गर्ने प्रहरीले तयारी गरिरहेको स्रोतले जनाएको छ । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।