दोलखा १८ भदौ / आलु उत्पादनमा पकेट क्षेत्रको रुपमा चिनिँदै आएको दोलखाको शैलुङ क्षेत्रका कृषकले उत्पादन गरेको आलुले यस वर्ष उपयुक्त मूल्य नपाउदा किसानहरु चिन्तित बनेका छन । जिल्लाका नौ वटै स्थानीय तह मध्ये शैलुङ क्षेत्र आलु उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । एउटा परिवारले कम्तिमा एक सय मुरी भन्दा वढि आलु उत्पादन गदै आएका शैलुङ क्षेत्रका किसानहरु उपयुक्त मूल्य नपाउदा चिन्तित बनेका हुन ।
गत वर्ष १ सय ८० रुपैया धार्नीमा विक्रि हुदै आएको आलु यसवर्ष प्रति धार्नी ८० देखी ८५ रुपैँया सम्ममा मात्र बिक्रि हुने गरेको दोलखा शैलुङ गाउँपालिका वडा नम्वर ८ का कृषक मान बहादुर केसीले वताए । उनका अनुसार आलु नै हाम्रो आम्दानीको मुख्य श्रोत हो । व्यावसायिक रुपमा आलु खेती गदै आएका उक्त क्षेत्रका किसानको आलु गत वर्षको तुलनामा दोब्बर उत्पादन भएपनि बजार भाउमा भने गिरावट आएको केसीले बताउछन् । अहिले आलु बिक्री गर्ने सिजन सुरु भएपनि किसानहरु बजार भाउ बढने आशमा बसेका छन । शैलुङ क्षेत्रको आलु बढि कुहिएको कारण आलुको मुल्यमा गिरावट आएको आलु ब्यापारी नारायण बहादुर थापाले बताएका छन् । गत वर्ष ६० करोड बराबरको आलु निर्यात भएकोमा यसवर्ष बजार भाउ नआएकाले निर्यातमा कमि आउने अनुमान किसानहरुको छ । यस वर्ष ५० देखी ५५ करोड रुपैैँयाको आलु निर्यात हुने अनुमान शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले गरेका छन् ।
यस क्षेत्रको आलु स्थानीय बजार सहित काठमाण्डौको कालिमाटी लगायतका प्रमुख तरकारी बजार र विदेशमा समेत निर्यात हुने गरेको छ । बेमौसममा समेत आलु विक्रि गर्न र उपयुक्त मूल्य पाउने वातावरण बनाउन स्थानीय सरकारले भण्डारण तथा बजार व्यवस्थापनको लागि पहल गरदिनु पर्ने कृषकहरुको माग रहेको छ ।