रौतहट, भदौ २३। रौतहट प्रहरीको हिरासतमा युवकको मृत्यु भएको घटनामा तत्कालिन रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकासहित ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको प्रहरी हिरासतमा मृत्युको घटनालाई लिएर बुधबार विजय रामको बुबा पनिलाल महरा चमारले तत्कालिन एसपी खड्कासहित इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतो, इन्सपेक्टर नविन कुमार सिंह, सई विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनिया विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जिल्ला न्यायधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।
एसपी खड्कालाई १८ भदौमा रौतहट प्रहरी प्रमुखको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ भने इलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको जिम्मेवारी खोसेर डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ । हाल खड्काको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई र महतोको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ । त्यस्तै इन्सपेक्टर सिंह र हवल्दारद्वय सिंह र धुनियालाई गृह मन्त्रालयले १६ भदौमा ६ महिनाको लागि निलम्बन गरेको थियो ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो ।