रौतहट,१६ भदौ । रौतहट प्रहरीको हिरासतमा रहेका एक जना थुनुवा सोमबार साँझ फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा गौर स्थित प्रहरी हिरासतमा रहेका गौर नगरपालिका–४ का २२ वर्षीय रोहितकुमार यादव फरार भएका हुन् । पिसिआर रिपोर्ट नआएसम्म प्रहरीले पक्राउ परेकालाई कडा सुरक्षाका साथ बाहिर नेपाल टेलिकम नजिक बनाएको क्वारेन्टाइनमा राख्दै आएको छ । सोही क्वारेन्टाईनमा बसेका यादव शौचालयको झ्यालबाट भागेको प्रहरीले जनाएको छ । गाउँकै एक १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा यादवलाई रौतहट प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई सोमबार म्याद थपेर कोरोनाको पिसिआर परीक्षणका लागि प्रहरीले टेलिकम नजिकको एक घरमा क्वारेन्टाइनका रुपमा राखेको प्रहरीले जनाएको छ ।