रौतहट, १२ जेठ / नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ । कोरोना संक्रमणका कारण निधन भएका पत्रकार चौधरीको सम्झना स्वरुप मनोज चौधरी स्मृती पत्रकारिता पुरस्कारको स्थापना गर्ने नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम चन्द्र झाले बताएका छन् ।
बिगत एक दशक देखि पत्रकारिता पेशामा आवद्ध रहेका चौधरीको केही दिन अघि कोरोना संक्रामणका कारण निधन भएको थियो । स्थापना हुने स्मृती पुरस्कार नगद २५ हजार राशीको हुने र स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने रौतहटका पत्रकारहरु मध्ये एक जना उत्कृष्ट पत्रकारलाई हरेक वर्ष वैशाख २९ गते प्रदान गर्ने महासंघका सचिव मदन ठाकुरले जानकारी दिएका छन् ।
कोरोना संक्रमित चौधरीको उपचारकै क्रममा निधन भएकाले स्वास्थ्य सेवाको प्रभावकारिता र गुणस्तर बृद्धिका लागि रौतहटका सञ्चारकर्मीहरुले समाचारको माध्यामले स्वास्थ्य क्षेत्रमा सुधारका लागि आवाज उठाउन भन्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरेको अध्यक्ष झाको भनाइ रहेको छ । उनका अनुसार जिल्लाका बिभिन्न क्षेत्रमा रहेका सरकारी स्वास्थ्य संस्थाहरुको सेवा प्रभावकारी नभएका कारण त्यसको सुधारका निम्ति सक्रिय रुपमा कलम चलाउने एक जना पत्रकारलाई उक्त स्मृती पुरस्कारबाट सम्मानित गर्ने बताएका छन् ।