सल्यान, ८ चैत / नेपाल टेलिकम सल्यानका कर्मचारी लोकमान ओली करेन्ट लागेर घाइते भएका छन् । आज दिउँसो सल्यानको छत्रेश्वरी गाउँपालिकाको कृषि भेटनरी कार्यालय भोटेचौरमा टेलिफोन जडान गर्ने क्रममा उनलाइ करेन्ट लागेको हो । करेन्ट लागे लगतै गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो । जिल्ला अस्पताल सल्यानमा उपचार पछि उनलाइ थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौ रिफर गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।अहिले खतरा मुक्त रहेको ओलीको हात, खुट्टा, लगाएत शरिरको अन्य भाग जलेको पारिवारिक श्रोतले जनाएको छ ।
ओलीले टेलिफोन तारको एकातिरको भाग समातेका थिए भने अर्का कर्मचारीले तारको अर्को भाग समातेर बिजुलीको तारभन्दा माथीबाट अर्को साइटतिर फाल्दै थिए । सोहि क्रममा उक्त तारले ३३ केबी प्रशारणको बिजुलीको नांगो तारलाइ छुँदा एक साइटको तार समातेका ओलीलाइ करेन्ट लागेको जिल्ला प्रहरी सल्यानले बताएको छ ।
घाइते ओली छत्रेश्वरी गाउँपालिका २ दहखोला घर भइ हाल श्रीनगरमा बसोबास गर्दै आएका छन् ।