रौतहट, ७ गते/ रौतहटको चन्द्रपुर-७ बनबहुअरीमा साइवर अपराध र त्यसको न्यूनीकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ७ को आर्थिक सहयोग र जनसरोकार मिडिया प्रालिको आयोजनामा बनबहुअरीको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई साइवर अपराध र त्यसको न्यूनीकरणको बारेमा तालिम दिईएको जन सरोकार मिडिया प्रालिका संचालक प्रिमेश सिवाकोटीले बताएका छन् ! कक्षा ७,८,९ र १० का विद्यार्थीलाई दिइएको उक्त २ दिने तालिमको चन्द्रपुर नगरपालिका ७ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले मैनबत्ति बालेर उद्घाटन गरेका थिए । उद्घाटन गर्दै वडाध्यक्ष उप्रेतीले अहिले यो प्रविधिको युगमा धेरैजसो प्रविधिको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भएकोले विद्यार्थीहरुका लागि साइवर अपराध अत्यन्तै गहन विषय भएका कारण यस सम्बन्धि गम्भीर भएर ज्ञान लिन आग्रह गरेका थिए ।
उक्त तालिममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी निरीक्षक चन्द्रभुषण गादव र पत्रकार ओम किशोर चौधरीले प्रशिक्षण दिएका थिए । साइवर अपराध कस्तो अपराध हो ? यसले कस्तो असर पुर्याउछ ? यदी साइवर क्राइममा परे यसबाट कसरी बच्न सकिन्छ ? कसको सहारा लिने भन्ने विषयमा प्रशिक्षकहरुले विद्यार्थीलाई प्रष्ट पारेका थिए साथै सामाजिक संजालको सदुपयोग कसरी गर्ने, प्रविधिका फाइदा र बेफाइदाका बारेमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै उक्त २ दिने तालिमको समापन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले सामाजिक सञ्जालको पहुंच सबैमा पुगेकाले विद्यार्थी भाईबहिनीहरुले यसको प्रयोगमा चनाखो हुनुपर्ने कुरामा जोड़ दिएका थिए । शनिबार सम्पन्न उक्त तालिममा रौतहटका वरिष्ट पत्रकार संजय कार्की, न्युज २४ टेलिभिजनका रौतहट संवाददाता बाल विक्रम कार्की, प्रधानाध्याप राजेश शर्मा खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अन्य शिक्षक/शिक्षिका लगायतको सहभागिता रहेको थियो ।