रौतहट, १ चैत/ रौतहट जिल्लाको गुजरा नगरपालिका अन्तर्गत संचालित ५ दिने नगर स्तरीय पत्रकारिता तालिम सम्पन्न भएको छ । गुजरा नगरपालिकाको आर्थिक सहयोग तथा पोस्टम्यान मल्टिप्रपोज कम्पनी प्रा.लि.को आयोजनामा संचालित पत्रकारिता तालिम गुजरा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवालको प्रमुख आतिथ्यमा आईतबार सम्पन्न भएको हो ।
उक्त तालिमको समापन कार्यक्रमका प्रमुख अतिथी जयसवालले सहभागीहरुलाई आगामी दिनको सफलताको शुभकामना ब्यक्त गरेका छन्, साथै सहभागीहरुले पत्रकारिता तालिमबाट सिकेका कुरालाई डायरीमा मात्र सिमित नराखेर निस्वार्थ भावनाले कुनै पनि पूर्वाग्रह नराखी जनतालाई सही सूचनाले सुसूचित गराउने कुरामा आफू विश्वस्त रहेको समेत बताएका छन् । त्यसै गरि समापन कार्यक्रमका अर्का अतिथी गुजरा नगरपालिकाका नगर प्रवक्ता आरिफ दर्जीले सहभागीहरुलाई सधैँ निष्पक्ष तरिकाले पत्रकारिता गर्न सुझाएका थिए । उनले पत्रकारिता पेशामा धेरै कठिनाई र चुनौतीहरुको सामना गर्नु पर्ने भएकोले निडर भएर यस पेशामा लाग्न आग्रह गरेका थिए ।
त्यसै गरि तालिमको अन्तिम दिन आयोजक संस्थाले सहभागीहरुलाई चन्द्रपुर स्थित रेडियो गुञ्जनको अवलोकन समेत गराएका थिए । रेडियो अवलोकन गर्ने क्रममा सहभागीहरुलाई रेडियोका स्टेशन म्यानेजर संजय कार्कीले रेडियोको प्राविधिक तथा कार्यक्रम उत्पादन लगायतका बारेमा जानकारी गराएका थिए ।
गत बुधबार देखि शुरु भएको पत्रकारिता तालिमको उद्घाटन नगर प्रमुख सन्तलाल चौधरीले गरेका थिए । सम्पन उक्त तालिममा राम कुमार एलन, नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष प्रेम चन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले प्रशिक्षण दिएको पोस्टम्यान मल्टिप्रपोज कम्पनीका अध्यक्ष ओम किशोर चौधरीले जनकारी दिएकाछन् । अध्यक्ष चौधरीका अनुसार तालिममा गुजरा नगरपालिकाका ३० जना युवा युवतीहरुको सहभागिता रहेको थियो ।