काठमाडौं ,१९ भदौ / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिंदैछ । संसद सचिवालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बयान शुरु हुनेछ। समितिले यसअघि दुइ दिन बयान लिँदा जम्मा ६ वटा मात्रै प्रश्न सोधिएको छ। जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ ।
महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु धेरै बाँकी रहेकाले समय लाग्ने बताए। समितिको बैठक यसअघि भदौ १५, १६ र १७ गते बसेको थियो। जबराले सोधिएका प्रश्नमा जवाफ दिने क्रममा प्रतिप्रश्न गर्नुका साथै सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाउँदै आएका छन्।
पदीय जिम्मेवारीविपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको, पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लंघन गरेकोलगायतका आरोपसहित गएको फागुन १ गते जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको थियो । जबराले नेपाल बारले तयार पारेको आरोपमा सांसदले हस्ताक्षर गरेर महाभियोग भनेको भन्दै आएका छन्।