काठमाडौं,२८ असार/ आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ। नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो। आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि नेपाल पराजित भयो। यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए।
रोहित पौडेल र कप्तान सन्दीप लामिछाने शून्यमाआउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट भए। नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २र२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए। सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए।
हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ। नेपालले १७ खेलमा १५ अंक जोडेको छ। नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।