मकवानपुर, २५ माघ ÷ मकवानपुर जिल्लाको राई गाउँमा हुने साँस्कृतिक कार्यक्रममा अहिलेका चर्चित गायक मार्मिक लामा सहित दर्जैनौं कलाकारहरुले आफ्नो प्रस्तुती दिने भएको छ । तामाङ समुदायले मनाउने २८५७ औ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा बागमती गाउँपालिका–२ राईगाउँ युवा क्लवले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा फुल बुट्टे सारी बोलको गीतमा स्वर दिएका गायक मार्मिक लामा सहितका गायक तथा कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् ।
फागुन १ गते बागमती गाउँपालिका २ राईगाउँ बजारमा हुने उक्त साँस्कृतिक कार्यक्रममा तामाङ भेषभुषा, संस्कृति झल्किने प्रस्तुतीका साथै राष्ट्रिय गायकहरु सुरेश लामा, मदन घलान, फुलकुमार बम्जन, सुरज जिम्बा गायिका शशिकला मोक्तान, निर्मला घिसिङ्ग, रेश्मा बम्जन, सुजिता जिम्बा, नायिका सुनिता लुङ्गबा लगाएत स्थानिय कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिने क्लवका अध्यक्ष एवम कार्यक्रम संयोजक छवी बम्जनले मेरो हुलाकी डटकमलाई जानकारी दिएका छन् ।
उक्त साँस्कृतिक कार्यक्रमको प्रमुख अतिथिमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान रहने छ भने कार्यक्रम संचालन स्मारिका थिङ्गले गर्ने संयोजक बम्जनले बताएका छन् ।