काठमाडौं, ८असार / नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएपछि बुधबार आन्तरिक उडान नियमित हुने भएको छ। बुधबारको उडान सञ्चालन गर्ने विषयमा प्राधिकरणबीच मंगलबार मध्यरातमा सहमति भएको हो। वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहित ९ जनाको टोली तथा प्राधिकरणका महानिर्देशकसहितको टोलीसँग वार्ता शुरु भएसँगै उडान नियमित गर्ने सहमति भएको हो ।
मंगलबार राती सवा ११ बजे सकिएको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज मागका विषयमा सकारात्मक रहेको प्रतिकृया दिएपछि उडान नियमित गर्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए ।
वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि आन्तरिक तर्फका सबै हवाई उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो ।संघले विमान र हेलिकोप्टरका आपतकालिनदेखि नियमित सबै उडान ठप्प गर्ने घोषणासँगै हजारौं यात्रुहरुले दुःख पाउने भएपनि प्राधिकरणले वार्तामा बोलाएको हो । मंगलबारै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेरै हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो ।