काठमाडौं,६असार / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर समान २७ रुपैयाँ मूल्य वृद्धि गरेको हो। एकैपटक यति धेरै मूल्यवृद्धि गरिएको यो पहिलो पटक हो। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
अब पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ सय ९२ पुगेको निगमले जनाएको छ। ग्यास सिलिण्डर भने निगमले १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ। निगमले जेठ २६ गते पेट्रोलमा प्रतिलिटर ८, डिजेल र मट्टितेलमा १२ रुपैयाँ मूल्य बढाएको थियो। १० दिनमै फेरि मूल्य बढाएको निगमले अझै घाटा व्यहोरिरहेको जनाएको छ। निगमका अनुसार १ सय ९९ रुपैयाँमा बेच्दा पनि पेट्रोलमा अझै १३ रुपैयाँ ५८ पैसा घाटा रहेको छ।
डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा रहेको निगमको दाबी छ। मट्टितेलमा भने लिटरमा ४३ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। हालको मूल्य समायोजनपछि पनि निगमलाई अझै मासिक करिब ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको र असार मसान्तसम्म करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको दाबी निगमले गरेको छ।