रौतहट,५ असार/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माईतिघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागि युवाहरुले एसपीपीको विरोधमा चर्का नारावाजी गरेका छन् । एसपीपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’,आन्तरिक मामिलामा हस्तक्षेप नगर’, एसपीपी चाहिदैन देश बेच्न पाईदैन्’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । एसपीपी सम्झौता अगाडी बढाउने तत्कालिन सरकारका प्रमुख एवं नेताहरुका विरुद्धमा समेत उनीहरुले चर्को नारावाजी गरेका छन् । एसपीपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा स्पष्ट पार्नुपर्ने माग समेत युवा नेताहरुले गरेका छन् ।
विरोध प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटव्यूरो सदस्य एवं युवा संघका इन्चार्ज दिलु पन्तले एसपीपी राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेकी छन्। एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडी बढाउनेलाई चारपट्टा कसेर थानकोट नभई नेपाल नै कटाउनुपर्ने आवश्यक्ता रहेको बताए । एसपीपी मार्फत राष्ट्रलाई गुलाम बनाउने गद्धार तथा देशद्रोहीलाई कारवाही गर्नुपर्ने माग गर्दै उनले सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने माग समेत गरेका छन् ।