जनकपुर, १० फागुन / राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरका प्रमुख रामबालक यादवले कार्यालयलाई आफन्त भर्ना गर्ने भर्ती केन्द्र बनाएको छ । तराईलाई मरुभूमि हुनबाट जोगाउनको लागि सरकारले उच्च प्राथमिकता दिँदै राष्ट्रपतिको नाम जोडेर स्थापना गरेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण भन्दा पनि प्रमुख यादवले आफन्त तथा नातेदारहरुलाई विभिन्न पदमा नियुक्ति दिएर आफन्तलाई संरक्षण गर्न खोजेको आरोप कार्यालय श्रोतको छ ।
इकाईका प्रमुख राम बालकले आफ्नो पदीय मर्यादा बिर्सेर मौखिक रुपमा सहायक भू–संरक्षण अधिकृत काशीराम यादवलाई निमित्त कार्यालय प्रमुखको जिम्मा दिएर आफू वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवका निजी सचिवको रुपमा रहेर कार्य गर्दै आएको छ । उप–सचिव समेत रहेका यादव इकाईका प्रमुख भएर आए पश्चात आफनो सहोदर दाई महावीर यादव, नातामा भाई पर्ने आशिष कुमार यादवलाई सब–इन्जिनियर पदका लागि करारमा नियुक्ति गरेको छ भने नातामा भतिजा पर्ने धिरेन्द्र यादवलाई पनि सोही मिति देखि नै लागू हुने गरी विज्ञको रुपमा नियुक्त गरेको समाचार स्रोतले बताएको छ । वनमन्त्री यादवको नातामा दाजुभाई पर्ने भएकै कारण मन्त्रालयका वरिष्ठ उपसचिवलाई पन्छाएर कनिष्ठ उपसचिव राम बालकलाई छ जिल्ला हेर्ने गरी उक्त कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको हो । कार्यलयका प्रमुख भएर आए पनि उनी अहिले नियमित कार्यालयको कामकाज सञ्चालन गरेर बस्नुको साटो मन्त्री यादवको निजी सचिवको भुमिकामा सिंहदरबारमा रमाउने गरेका छन ।
कार्यालय प्रमुख नै गैर जिम्मेवार भएपछि निमित्तमा कार्यालयको जिम्मेवारी पाएका सहायक भू–संरक्षण अधिकृत काशीराम यादवले प्रमुख रामबालक यादवसँग मिलेमतो गरी टुक्रे उपभोक्ता समिति बनाएर खोलामा तार जाली लगाउने तथा नाम मात्रको नदी किनारमा हुने वृक्षरोपण गरेर बालुवामा पानी हाल्ने जस्तो कार्य गरी आर्थिक हिनामिना गरेको कुरा अख्तियारले पटक–पटक काटेको पत्रले समेत पुष्टि गर्दछ । निमित्तको जिम्मेवारी पाएका काशीराम यादव आफ्नो अख्तियारमा समेत सेटिङ रहेको र यसमा आफूलाई कसैले केही गर्न नसक्ने बताउँदै करारमा नियुक्त भएका सव–इन्जिनियरद्वय महावीर र आशिष यादव आउनु भन्दा अघि भएका कमशल कामहरुको कागजपत्र तयार गर्न लगाएको समितिका सदस्य शशी कुमार शर्माले बताए । शर्माका अनुसार काशीराम यादवले महोत्तरीको खयरमारामा समेत नदी नियन्त्रणका लागि भएको तटबन्ध जीपीएस प्वाइन्ट भन्दा आफूलाई फाइदा हुने स्थान तथा उपभोक्ता समिति बनाउन मिल्ने ठाउँमा काम गरेका छन ।