रौतहट,२९ माघ / रौतहट जिल्ला स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्था नाजुक बन्दै जान थालेको छ । अस्पतालबाट आम नागरिकले समान्य सेवा समेत पाउन छाडेका छन् । अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रेको तीन वर्ष बित्न लाग्दा समेत अस्पातलमा एक्सरे मेशिन आउन सकेको छैन् । एक्सरे मेशिन चलाउन जिम्मेवारी पाएका प्राबिधिक दिपेन्द्र झाले बिगत तीन वर्ष देखि काम नै नगरी मासिक रुपमा तलव बुझ्दै आएका छन् ।
चन्द्रनिगाहपुर सरकारी अस्पताल भएपनि रिफर अस्पतालका रुपमा परिणत हुदै आएको छ । अस्पतालका कर्मचारी सरकारी अस्पतालमा आउने बिमारीलाई चन्द्रनिगाहपुरकै निजी अस्पतालमा रिफर गरे वापत कमिशन समेत लिने गरेका छन् । अस्पतालाको अवस्था दयनिय बन्दै गएको भएपनि जनप्रतिनिधिले कुनै चासो नदिएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा युवा समाजसेवी नरेश लामिछानेको भनाई रहेको छ ।
त्यस्तै छात्रबृतीमा आएका प्रशिक्षार्थी डाक्टर संजिव कुमार साह नियमित रुपमा सरकारी अस्पतालमा नबसेर चन्द्रनिगाहपुर देखि गरुडा सम्मका निजी अस्पातलमा जाने गरेका छन् । उनको नेमप्लेट चन्द्रनिगाहपुर सबै जसो अस्पतालमा देखिन्छ । आफु भन्दा जुनियरलाई स्टोर किपरमा जिम्बेवारी दिएको भन्दै डाक्टर साहसँग असन्तुष्टी व्यक्त गर्ने तीन जना कर्मचारीलाई साहले २० दिन काम नगर्ने भन्दै चिठी समेत टाईप गर्न लगाएका थिए ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालबाट बिमा गराएकाहरुले समेत औषधी पाउन छाडेको चन्द्रपुर-८ का अच्युत हुमागांईको भनाई रहेको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी स्वयम संचालक समितिको अध्यक्ष रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्था नाजुक बन्दा समेत उनले चासो नलिएको स्थानीय बासिन्दाको भनाई रहेको छ ।