रौतहट, २६ माघ/ रंगपुर साझेदारी वन उपभोक्ता समुह रौतहटले मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री नागेन्द्र राय यादवलाई सम्मान तथा स्वागत गरेको छ । बुधबार जिल्लाको चन्द्रपुर स्थित डावरीमा एक कार्यक्रमको आयोजना गरी साझेदारीका अध्यक्ष जितेन्द्र चौधरीले राज्य मन्त्री यादवलाई सम्मान तथा स्वागत गरेको हो ।
रंगपुर साझेदारी वन उपभोक्ता समुहका पूर्व अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले कार्यक्रमलाई सम्वोधन गर्दै जब सम्म साझेदारी र सामुदायिक वन बलियो हुदैन तब सम्म वन/जंगललाई जोगाउन सकिदैन त्यसैले साझेदारी वन उपभोक्ता समुह र सामुदायिक वन उपभोक्ता समिति बीचमा हुने भेदभाव अन्त्य गर्दै यी दुईलाई समान तरिकाले अगाडी बढाउदै लैजाने हाम्रो योजना रहेको बताए । प्रमुख अतिथि समेत रहेका राज्य मन्त्री यादवले ऐन, कानून तथा नियम संशोधन गरेर भएपनि साझेदारी वनमा कार्यरत हेरालुहरुको तलबको सुनिश्चित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेका डिभिजन वन कार्यलय रौतहटका प्रमुख अमरदेव यादवले वैज्ञानिक वन ब्यवस्थापनका बारेमा प्रकाश पार्दै वन संरक्षण तथा वृक्षा रोपन कार्यलाई पहिलो प्राथामिकतामा राख्नु पर्ने कुरामा जोड दिएका थिए । विश्व माहामारीको रुपमा रहेको कोभिडबाट बच्नका लागि सर्वसाधारण जनताले अक्सिजन किन्नु पर्ने बाध्यता छ तर निःशुल्क रुपमा अक्सिजन पाउने बोट बिरुवाहरु चेतनाको अभावले दिन प्रतिदिन मास्दैछौ त्यसैले यस्ता कुराहरुमा हामीले विचार पुर्याउन आवश्यक रहेको यादवले बताए । त्यस्तै नेकपा माओवादी केन्द्र गुजरा नगर कमिटीले पनि वन तथा पर्यटन राज्य मन्त्री यादवलाई गुजरा वडा नम्वर–३ सिम्रीमा बधाई दिनुका साथै शुभकामना तथा सम्मान गरेको छ । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य काजिमान माझी, नगर कमिटी अध्यक्ष छोटेलाल चौधरी, स्थानिय नेताहरु मन्सुर देवान, कृष्ण पोखरेल, राज कुमार पहरी लगाएत स्थानिय बासिन्दाहरुले फुलमालाका साथ राज्य मन्त्री यादवलाई शुभकामना तथा बधाई दिएका थिए ।