काठमाडौं,२४ माघ / सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए।
निर्वाचन आयोगले भने स्थानीय निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव गरेको थियो। स्थानीय तह निर्वाचन ऐनको दफा ५५ मा जनप्रतिनिधिहरूलाई निर्वाचित भएको मितिको ७ औं दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था छ। २०७९ साल जेठ ४ गते निर्वाचन गर्दा त्यसको ७ दिनपछि जेठ ११ गते मात्रै नयाँ पदाधिकारीले पदभार ग्रहण गर्न पाउने अवस्था थियो।
वैशाख ३० मा नै निर्वाचन हुने भएपछि जेठ ६ गते नै नयाँ पदाधिकारीले पदभार सुरु गर्न पाउने भएका छन्। २०७४ वैशाख ३१ मा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि भने जेठ ५ गते सकिँदैछ। उनीहरूको पदावधि सकिएको भोलिपल्ट नै नयाँ पदाधिकारीले कार्यभार सम्हाल्नका लागि वैशाख ३० गते निर्वाचन घोषणा गरिएको हो।