रौतहट ३० कार्तिक । मुसामार्ने औषधी खाएर मृत्यु भएका रौतहट टिकुलियाका २ जना वालकको शव सहित सोमबार गरुडामा प्रदर्शन गरिएको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका मृतक संजय मुखियाको ५ वर्षिय छोरा आकाश मुखिया र ३ वर्षिय छोरा विकास मुखियाको शव बोकेर दोषीलाई कार्वाहीको माग सहित सोमबार प्रदर्शन गरिएको हो । दुवै बालकको शव राखेर गरुडामा २ घण्टा सम्म प्रदर्शन गर्दै दोषिलाई कारवाही र पिडितलाई उचित क्षतिपुर्ती दिनुपर्ने माग राखेर बाटो अवरुद्ध बनाएका थिए । प्रहरी र प्रदर्शनकारी बीच ईलाका प्रहरी कार्यालय गरुडामा छलफलमा घटनाको गहनरुपमा अनुसंधान गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउने सहमति भएको थियो ।
सहमति पछि बालकहरुको शवको अंतिम संस्कार गर्ने निर्णय बिपरित केही मानिसले पुनः शव राखेर बाटो रोक्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरि बाटो खुलाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन ।
वैदेशिक रोजगारीको शिलशिलामा साउदीरहेका संजय मुखियाको दुवै छोरा शनिवार विहान ८ बजेको समयमा बान्ता गर्न लाग्दा मुखियाको विसुनपुर्वा मानपुरको आफन्त अहेव जयलाल मुखियाले घन्टौ सम्म घरमै राखेर उपचार गरेका थिए । उनको उपचारले सुधार नहुंदा शिवनगर स्थित संजीवनी अस्पतालमा भर्ना गरिएको थियो । केहि समय पछि गरुडा स्थित अनामिका अस्पतालमा रेफर गरियो र अनामिकामा झन्डै ८ घन्टाको उपचार पछि थप उपचारको लागि विरगंज स्थित तराई अस्पताल रेफर गरिएको थियो । उपचारकै क्रममा शनिवार राती कान्छो र आइतबार विहान जेठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै जनाको शव नारायणी अस्पताल विरगंजमा पोष्टमार्टम भएको डिएसपी भण्डारीले बालकलाई मुसा मार्ने औषधी कसले खुवाए वा आफै खाएको भने सन्दर्भमा प्रहरी गम्भीर भएर गहन रुपमा अनुसन्धान गरिरहेकको बताए ।
गतवर्ष टिकुलिया गाउँका महेश तिवारी दम्पती माथि एक समूहले धारिलो हतियारबाट साँघातिक हमला गरिएका थिए । उक्त घटनामा जयरानी देवी तिवारीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर अवस्थाका तिवारी हालसम्म उपचाररत छन । उक्त घटनाको मुख्य योजनारको रूपमा स्थानीय रामएकवाल मुखिया माथी किटानी जाहेरी पछि उनी फरार छन । हत्याका मुख्य योजनाकार मुखियाको नाम फिर्ता गराउन महेश तिवारी,उनका दाजु सुरेस तिवारी,उनका छोराहरू राजेश तिवारी,रमेश तिवारी लगायत ५ जना माथि बालकको हत्यामा संलग्न भएको भन्दै केहि नेताहरु जवरजस्ती नाम मुर्छन खोजिएको प्रहरी श्रोतबाट सूचना प्राप्त भएको छ ।