हेटौंडा, ११ कात्तिक / बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन् । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरुलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। विपक्षी गठबन्धनका तर्फबाट पाण्डेले हिजै साँझ बहुमत ५९ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको जनाइएको छ। पाण्डेले आज तीन जना मन्त्री नियुक्त हुने र तिहारपछि मन्त्रिमण्डल विस्तार गरिने बताउनुभएको छ।
स्रोतका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने छन् । सरकारका जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतले जानकारी दिएको छ । तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तारको काम अघि बढ्ने छ ।