काठमाडौं,२० असोज / प्रदेश-२ मा का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषदको गत बुधबारको बैठकले प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।
आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्। जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि मुख्यमन्त्री राउतले विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। संविधानको धारा १८८ उपधारा २ को व्यवस्थाअनुसार उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । उक्त उपधारामा भनिएको छ,मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभााजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।
प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाले दाबी गर्दै आएको छ। एक सय चार सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५२ सांसद भए पुग्छ । त्यसैले मुख्यमन्त्री राउत भारी बहुमतमा छन् ।