सिन्धुपाल्चोक, १९ असोज / प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चौतारामा रहेको वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ । दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको प्रहरी कार्यालयले मङ्गलवार वृद्धाश्रममा खाद्यान्न सहित फलफूल सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतका अनुसार वृद्धाश्रममा १२ बोरा चामल, २ काटुन खाने तेल, बिस्कुट ६ प्याकेट, दाल १० केजी, चिनी १० केजी, चिया पत्ति १ केजी, हर्लिक्स १० बट्टा लगायत खाद्यान्न सहयोग गरिएको हो ।
खाद्यान्न सँगै प्रहरीले आश्रममा विभिन्न किसिमका फलफूल समेत वितरण गरेको छ । प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले रक्तदान कार्यक्रम, वृक्षरोपण र सरसफाई कार्यक्रम पनि सम्पन्न गरिसकेको सूचना अधिकारी बस्नेतले जानकारी दिएका छन् ।