रौतहट, १२ असोज / रौतहटमा जनता आवासको माग गर्दै दलित आवास निर्माण संघर्ष समितिले प्रदर्शन गरेको छ । प्रदेश सरकार मातहतमा रहेका जनता आवास कार्यक्रम तथा अन्य विपन्न गरीबहरुको आवास निर्माणका कामहरु समयमा नगरेकाले अर्बौं रकम फ्रिज भएको भन्दै विपन्न तथा दलितहरुको संघर्ष समितिले जिल्ला सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।
मंगलबार दिउसो निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाको अगुवाईमा भएको कार्यक्रममा हजारौको संख्यामा विपन्न, गरिब तथा दलितहरुको उपस्थिति रहेको थियो । प्रदर्शन पछि कार्यक्रमलाई संवोधन गर्दै कुश्वाहाले प्रदेश सरकार मातहतमा रहेका जनता आवास कार्यक्रम तथा स्थानीय सरकार मातहतमा रहेको सुरक्षित आवास कार्यक्रममा भईरहेको चरम भ्रष्टाचार, अनियमितता तथा कर्मचारीको लापरवाही र उदाशीनताले अर्बौं रकम फ्रिज भएकोले त्यस्ता कर्मचारीहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने बताएका छन । कर्मचारीहरुको गलत रबैया कारण जनता तथा सुरक्षा आवास निर्माणमा ढिलाई भएकोले यथाशक्य आवास निर्माणमा जोड दिनु पर्ने समेत कुश्वाहाले बताएका छन् ।
उक्त प्रदर्शन कार्यक्रमका मौलापुर नगरपालिका नगरप्रमुख रिना कुमारी साह, युवा नेता पलट चौधरी, अमर साह तथा उपेन्द्र साह लगाएतका नेताहरुले कार्यक्रमलाई संवोधन गर्दै दलित तथा विपन्न गरिबहरुको बारेमा आवाज उठाएका थिए । साथै सम्वोधनको क्रममा सदियौं देखि थिचोमिचोमा पर्दै आएको र जहिले पनि हेलाको पात्र बन्ने गरेका कारण अब त्यस्तो ब्यवस्थाको अन्त्य गर्नु पर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । त्यस्तै अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीडन लगायतका भेदभाव र विभेदहरुको व्यवहार पूर्ण रुपमा अन्त्यको जोडदार माग सहित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय रौतहटलाई ८ बुँदे ज्ञापन–पत्र पेश गर्दै १५ गते स्थानिय तह घेराउ गर्ने सहितको आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।