सिन्धुली, २५ कार्तिक / भित्री मधेश जोड्ने मदन भण्डारी राजमार्ग अन्तरगत निर्माणाधीन अवस्थामा रहेको बागमतीको पुलको निर्माण कार्य यसै आर्थिक वर्ष भित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।
सिन्धुली र मकवानपुर जिल्ला जोड्ने बागमतीको पुल समयमा निर्माण नहुदाँ सर्वसाधारणलाई खोला वारीपारी गर्न समस्या पर्ने गरेको स्थानीय बासिन्दाको भनाई रहेको छ । बागमतीमा पुल नहुँदा सिन्धुली र मकवानपुरका स्थानीय बासिन्दालाई वर्षायाममा नदीमा आउने बाढीले मात्रै नभएर हिऊँदमा पनि आवत जावतमा समस्या पर्दै आएको हरिहरपुर गढ़ी वडा नम्वर ३ गुर्जी टोल सुधार समितिका अध्यक्ष चेत बहादुर मोक्तान प्रख्यातले बताए ।
राजमार्गकालो पत्रे गर्न कालिका कन्ट्रक्सन र पुल निर्माणको ठेक्का पाएका स्वच्छन्द निर्माण सेवा प्रालिले निर्माण सामाग्री ढुवानी गर्न डाइभर्सन निर्माण गरि अस्थायी रुपमा ठुलो गाडीको लागि बाटो संचालनमा ल्याएको थियो । सो डाइभर्सनको अस्थायी बाटोमा सानो गाडीको आवागमन नहुने हुँदा सानो गाडीहरुको आवत जावत पनि सजिलै तरिकाले हुनु पर्ने माग लिएर मंगलबार स्थानीय समाज सेवी तथा युवाहरुले निर्माण कम्पनीलाई दवाब दिएका थिए सोही अनुसार सानो तथा मझौला सवारी साधनको आवागमन सहज हुने गरी डाइभर्सन निर्माण गर्ने प्रतिबद्धता निर्माण कम्पनीहरुले जनाएको हरिहरपुर गढी गाउँपालिकाका राष्ट्रिय युवा संघका सह संयोजक सन्तोष आले मगरले बताएका छन् ।
निर्माण कम्पनीले स्थानीय समेतले प्रयोग गर्ने गरी डाइभर्सनलाई व्यवस्थित गर्ने तथा चालू आर्थिक वर्ष भित्र नै बागमती पुलको निर्माण सम्पन्न गर्ने समेत आश्वासन आफूहरुलाई दिएकोले स्थानीय बासिन्दा हर्षित भएको नेकपा वडा नम्वर ३ का इन्चार्ज सत्यमान मोक्तानले जनाएका छन् ।